फेवाताल किनारका अवैध संरचना हटाउन सुरु
प्रकाशित मिति
२०८२ चैत्र २१ गते, शनिबार ११:२०
२१ चैत,२०८२ पोखरा — पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत बनाइएका अस्थायी संरचना भत्काउन सुरु गरिएको छ। शनिबार बिहानैदेखि तालको ६५ मिटरभित्र पर्ने संरचनामा डोजर प्रयोग गरी हटाउने काम थालिएको हो। सो क्रममा पर्यटन व्यवसायी कर्ण शाक्य को वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खालसमेत भत्काइएको छ।
संरचना हटाउने कार्यका लागि नेपाल प्रहरी, नगर प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। यसअघि पनि पोखरा महानगरपालिका ले अतिक्रमण गरी बनाइएका संरचना हटाउँदै आएको थियो। पछिल्लो समय सर्वोच्च अदालत को आदेशपछि प्रदेश सरकारसँग समन्वय गरी ताल किनारमा ६५ मिटर सीमाना निर्धारण गर्ने काम अघि बढाइएको हो।

यसैबीच, प्रधानमन्त्री बालेन शाह ले पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग टेलिफोन संवाद गर्दै फेवाताल अतिक्रमणबारे चासो व्यक्त गरेका थिए। सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यक्रममा पनि फेवा किनारका अतिक्रमित संरचना हटाएर जलाधार क्षेत्र व्यवस्थापन गर्ने विषय समेटिएको छ।

पोखरा महानगरपालिकाले फेवाताल संरक्षणसम्बन्धी हालसम्मको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको जनाएको छ।




प्रतिकृया