चितवनमा ग्यास वितरण कडाइ,यी व्यक्तिलाई बढी प्राथमिकता
प्रकाशित मिति
२०८२ फाल्गुन ३० गते, शनिबार ०८:१९
३० फाल्गुन,२०८२ काठमाडौं- जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। बजारमा ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्यालाई समाधान गर्न शुक्रबार सरोकारवालासँग गरिएको छलफलपछि प्रशासनले ग्यास वितरण प्रणालीलाई आवश्यकतामुखी बनाउने तथा सम्भावित अनियमितता नियन्त्रण गर्न निगरानी बढाउने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनाअनुसार ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण रूपमा अशक्त तथा अपाङ्गता भएका व्यक्ति तथा कोठा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइनेछ। लक्षित वर्गका व्यक्तिलाई ग्यास प्राप्त गर्न समस्या भएमा जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बर १६६०–५६५२००१ मा सम्पर्क गरेर जानकारी गराउन सकिने उल्लेख गरिएको छ।
नेपाल आयल निगमको निर्णयअनुसार ग्यास उद्योगी तथा विक्रेताले प्राप्त गरेको र बिक्री गरेको ग्यासको स्पष्ट अभिलेख राख्नुपर्नेछ। उक्त विवरण दैनिक रूपमा जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। विवरणमा अनियमितता भेटिएमा कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
प्रशासनले उपभोक्तालाई नजिकका विक्रेतासँग सम्पर्क गरेर ग्यास खरिद गर्न, आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न तथा ग्यासको अभाव कम गर्न विद्युतीय चुल्हाको प्रयोग बढाउन आग्रह गरेको छ। साथै, कतै ग्यास लुकाइछिपाइ वा गैरकानुनी रूपमा बिक्री भइरहेको जानकारी पाएमा टोल–फ्री नम्बर वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ।
सूचनामा ग्यास वितरण प्रणालीलाई न्यायोचित बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।








प्रतिकृया