अमरेश सिंहको दल परिवर्तनप्रति मिराज ढुङ्गानाको यस्तो टिप्पणी
प्रकाशित मिति
२०८२ फाल्गुन २६ गते, मंगलवार १०:२२
२६ फाल्गुन,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’ अगुवा मिराज ढुङ्गानाले विगतमा मधेसी नेताहरूले अपमान खेप्दा नेपाली कांग्रेसले नै सम्मानजनक व्यवहार गरेको स्मरण गराएका छन्।
ढुङ्गानाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै इतिहासले देखाएको भन्दै मधेसी नेतामाथि अपमान हुने बेला कांग्रेसले उनलाई नेपाली नागरिकसरह सम्मान दिएको उल्लेख गरेका छन्। “इतिहासले देखाएको छ– जब सबैले मधेसी नेतालाई अपमान गर्थे, भारतीय दलाल र एजेन्ट भन्ने गरिन्थ्यो, त्यतिबेला तपाईँलाई सम्मानका साथ नेपाली नागरिकजस्तो व्यवहार गर्ने पार्टी नेपाली कांग्रेस नै हो,” उनले भनेका छन्।
उनले डा. सिंह स्वतन्त्र सांसद हुँदा प्रतिनिधिसभाबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई चुनौती दिएको र अहिले रास्वपा प्रवेश गरेपछि कांग्रेस सभापति गगन थापालाई सुझाव दिएको प्रसङ्ग पनि उल्लेख गरेका छन्।
ढुङ्गानाले सिंहको पछिल्लो राजनीतिक निर्णयप्रति कटाक्ष गर्दै काँग्रेस छोडेर नयाँ दलमा प्रवेश गर्नुको कारण समाजले बुझ्ने बताएका छन्। “काँग्रेस छोड्नुको कारण समाजले बुझ्नेछ, नयाँ दलमा पस्नुको कारण सबैलाई स्पष्ट छ,” उनले लेखेका छन्।
यद्यपि उनले सर्लाही क्षेत्र नम्बर ४ मा सिंहले गरेको विकासको चर्चा भने अन्तर्राष्ट्रिय स्तरसम्म हुने भन्दै त्यसको प्रशंसा गरेका छन्।
सन्देशमा ढुङ्गानाले सिंहको कठिन समयको स्मरण गर्दै उनलाई आत्महत्या जस्तो अप्रिय निर्णयबाट जोगाउन धेरैले प्रयास गरेको उल्लेख गर्दै उनको दीर्घायुको कामना गरेका छन्। “यो निर्वाचनले तपाईँको जीवन र राजनीतिक भविष्य दुवै रक्षा गरेको छ,” उनले भनेका छन्, “तपाईँको दीर्घायु र समाजलाई योगदान दिन सक्ने क्षमताको कामना गर्दछौँ।”
अन्त्यमा उनले अमरेश सिंहको नयाँ राजनीतिक यात्राका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन्।








प्रतिकृया