एमाले घोषणापत्र फागुन ३ पछि मात्रै सार्वजनिक हुने
प्रकाशित मिति
२०८२ फाल्गुन १ गते, शुक्रबार १२:४१
१ फाल्गुन, २०८२ काठमाडौं – नेकपा एमालेले आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र फागुन ३ गतेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरेको छ। निर्वाचन आयोगले फागुन ३ भित्रै घोषणापत्र बुझाउन निर्देशन दिएको भएपनि तयारी अभावका कारण एमालेले ढिला गर्ने भएको हो।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडौँ फर्केर मस्यौदा अध्ययनमा जुटेका छन्। अध्यक्षले थपघट गर्नुपर्ने विषय समावेश गर्नुपर्ने भएकाले फागुन ३ अघि सार्वजनिक गर्नु कठिन रहेको उनले बताए।
एमालेले घोषणापत्र मस्यौदा तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा मस्यौदा कमिटी गठन गरेको थियो। कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल सदस्य रहेका छन्। मस्यौदा कमिटीले विज्ञ र सरोकारवालाहरूसँग छलफल गरी सुझाव सङ्कलन गरेको थियो।
एमालेका नेताहरूले यस पटकको घोषणापत्र लामो नबनाउने र अघिल्लो निर्वाचनमा प्राथमिकतामा राखेका विषयहरूलाई समेत समेटेर राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखेर तयार गर्ने बताएका छन्।
त्यस्तै, नेपाली कांग्रेसले फागुन २ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य दलहरू भने अहिलेसम्म आफ्नो घोषणापत्र सार्वजनिक गरेको छैन। जसपा फागुन १ गते सार्वजनिक गर्ने तयारीमा छ भने नेपाली कम्युनिस्ट पार्टीले महत्त्वाकाङ्क्षी योजना समेटेर आफ्नो घोषणापत्र पहिले नै सार्वजनिक गरिसकेको छ।








प्रतिकृया