• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

सुपर खुदी हाइड्रोपावरले फागुन ४ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

प्रकाशित मिति

२०८२ माघ २३ गते, शुक्रबार १०:३१

२३ माघ,२०८२ काठमाडौं – सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ।

National Life

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबर ३१ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दा र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ। साथै ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो।

दोस्रो चरणमा कम्पनीले कर्मचारीका लागि ३१ हजार कित्ता शेयर छुट्याएर बाँकी १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा फागुन १० गते र ढिलोमा फागुन १९ गते बन्द हुने कम्पनीले जनाएको छ।

आईपीओका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब २० करोड ६९ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्र अवधि २७ वर्ष ५ महिना बाँकी छ। साधारण लगानी फिर्ता अवधि ७.२१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १३.४२ वर्ष रहेको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

प्रतिकृया