राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली पुस १९ गते प्रकाशन हुने
प्रकाशित मिति
२०८२ पुष ७ गते, सोमबार ०१:३८
७ पुस,२०८२ काठमाडौं— राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नामावली यही पुस १९ गते प्रकाशन हुने भएको छ ।निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ ।
प्रकाशित नामावलीमाथि दाबी–विरोध तथा उजुरी दर्ता गर्न सकिने आयोगले जनाएको छ । दाबी–विरोध र उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन कार्यक्रमअनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ ।
यसैगरी पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिन्ह प्राप्त गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ ।








प्रतिकृया