• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

समानुपातिक बन्दसूची बुझाउने समय नजिकिँदै, समावेशी कोटामा हेरफेर

प्रकाशित मिति

२०८२ पुष ६ गते, आईतवार ११:२७

६ पुस,२०८२ काठमाडौं— राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय आउन अब एक साता मात्र बाँकी छ। बन्दसूचीमा रहने समावेशी प्रतिनिधित्वको प्रतिशतमा यसपटक सामान्य हेरफेर गरिएको छ।

National Life

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम गत मंसिर २१ गतेदेखि सुरु भएको हो। निर्वाचन कार्यक्रमअनुसार समानुपातिक प्रणालीमा सहभागी हुन चाहने राजनीतिक दललाई मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिने समय दिइएको थियो। तोकिएको अवधिमा १०० राजनीतिक दलले निवेदन दिएका छन्।

समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दलहरूले यही पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ। बन्दसूची पेस गर्दा समावेशी कोटा अनुसार उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था छ। यसअघि २०७९ सालको निर्वाचनमा २०६८ सालको जनगणनाका आधारमा समावेशी कोटा निर्धारण गरिएको थियो। यसपटक भने २०७८ सालको जनगणनाका आधारमा समावेशी कोटा निर्धारण गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसका लागि सरकारले निर्वाचन ऐन संशोधन गर्दै अध्यादेश जारी गरेको थियो। राष्ट्रपतिबाट गत शुक्रबार जारी भएको अध्यादेशअनुसार अब राजनीतिक दलहरूले २०७८ सालको जनगणनाअनुसार तय गरिएको समावेशी कोटाबमोजिम समानुपातिकतर्फको उम्मेदवार बन्दसूची बुझाउनुपर्नेछ।

प्रतिनिधि सभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुनेछन्। समानुपातिक प्रणालीतर्फका ११० सिटका लागि उम्मेदवार बन्दसूची बुझाउँदा समावेशी कोटाअनुसार नाम समावेश गर्नुपर्नेछ।

निर्वाचन आयोगका अनुसार संशोधित ऐनअनुसार समानुपातिकतर्फ ११० सिटका लागि खस आर्य ३३, आदिवासी जनजाति ३२, मधेशी १८, दलित १५, थारू ७ र मुस्लिम समुदायबाट ५ जनाको नाम बन्दसूचीमा समावेश गर्नुपर्नेछ। समग्रमा उम्मेदवारमध्ये कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरिएको छ।

समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची आगामी माघ ४ गते प्रकाशित हुने कार्यतालिका छ। प्रारम्भिक सूचीमाथि दाबी, विरोध तथा उजुरीको छानबिनपछि माघ २७ गते बन्दसूचीको अन्तिम प्रकाशन गरिनेछ।

विद्यमान कानुनअनुसार प्रतिनिधि सभाका २७५ सदस्य प्रत्यक्ष र समानुपातिक गरी दुई निर्वाचन प्रणालीमार्फत चयन हुनेछन्। प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन भने आगामी माघ ६ गते हुने निर्वाचन आयोगले जनाएको छ।

प्रतिकृया