मधेशका मुख्यमन्त्री यादव राजीनामा दिन तयारी
प्रकाशित मिति
२०८२ मंसिर १७ गते, बुधबार ०१:१०
मंसिर १७, २०८२ काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित देखिएपछि आजै प्रदेशसभा बैठकमा धारणा राखेर राजीनामा दिने तयारी गरेका छन्। विश्वासको मतका लागि बिहान ८:३० बजे बोलाइएको बैठक मुख्यमन्त्री नै अनुपस्थित भएपछि बैठक दिउँसो २ बजेसम्म स्थगित गरिएको छ।
प्रदेशसभाको अंकगणितअनुसार यादवले आवश्यक ५४ मत जुटाउने सम्भावना छैन। १०७ सदस्यीय सभामा एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन् (एक निलम्बित), साथै नेपाल संघीय समाजवादी र राप्रपाका एक–एक मत रहेको छ।

राप्रपाकी मन्त्री कञ्चन बिच्छाको पद नै धरापमा रहेकाले पार्टीले उनको सांसद पद खारेज गर्न प्रदेशसभा सचिवालयमा पत्राचार गरिसकेको छ।

यसैबीच सात दलको गठबन्धनसँग ७३ मत छन्—कांग्रेस २२, जसपा १८, जनमत १३, माओवादी केन्द्र ९, लोसपा ८, एकीकृत समाजवादी ७ र नागरिक उन्मुक्ति १।
सर्वोच्च अदालतले मंसिर १५ गते २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि आजको बैठक बोलाइएको हो। यसअघि मुख्यमन्त्री जितेन्द्र सोनलले बहुमत नपाएपछि कात्तिक २२ मा राजीनामा दिएका थिए, जसपछिको परिस्थितिमा कात्तिक २४ गते प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।




प्रतिकृया