• २० असोज २०८३, मंगलबार
  • ६ः५७ बिहान

चुनावमा एक थोपा रगत नबग्ने वातावरण बनाउन सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन

प्रकाशित मिति

२०८२ मंसिर १२ गते, शुक्रबार ०३:३४

मंसिर १२, २०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई पूर्ण रूपमा शान्तिपूर्ण, मर्यादित र भयरहित बनाउन नेपाली सेनालाई विशेष निर्देशन दिएकी छिन्। जंगीअड्डास्थित नेपाली सेना मुख्यालयको निरीक्षण भ्रमणपछि उनले “एक थोपा पनि रगत नबग्ने र एक जना पनि घाइते नहुने” गरी निर्वाचन सुरक्षा सुनिश्चित गर्न सेना तथा सुरक्षानिकायहरूलाई कडा निर्देशन दिएकी हुन्।

National Life

प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनका सम्भावित चुनौती, विगतका अनुभव र वर्तमान सुरक्षा स्थिति विश्लेषण गर्दै सबै सुरक्षा निकायबीच उच्च स्तरको समन्वय, तयारी र त्रुटिरहित कार्य सञ्चालन अनिवार्य हुने बताइन्।

उनले सुरक्षा निकायलाई जनतामा सुरक्षाको प्रत्याभूति दिलाउन, प्रहरी कारबाहीलाई सहज र सुरक्षित बनाउन, र सबै राजनीतिक दलका गतिविधि अवरोधबिना सञ्चालन हुने वातावरण कायम गर्न स्पष्ट कार्ययोजना सहित अघि बढ्न निर्देशन दिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा हराएका तथा लुटिएका हातहतियारको खोजी र नियन्त्रणमा सेनासहित सुरक्षानिकायको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरिन्। साथै फरार अपराधी पक्रन प्रहरीले मागेअनुसार सेनाले सबै प्रकारको सहयोग गर्नुपर्नेमा जोड दिइन्।

सो अवसरमा नेपाली सेनाले हालको सुरक्षा स्थिति, प्रमुख चुनौती, आगामी कार्ययोजना र निर्वाचन सुरक्षाका लागि सेनाको भूमिका तथा परिचालन योजनाबारे विस्तृत ब्रिफिङ गरेको थियो।

प्रधानमन्त्री कार्कीले आन्दोलनपछि स्थिरता कायम गर्न बनेको सरकारले शान्ति–सुरक्षा मजबुत गर्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन प्रतिबद्ध रहेको बताइन्। उनले नेपाली सेनाले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत उच्च अधिकारीको उपस्थिति थियो।

प्रतिकृया