• २८ भदौ २०८३, आइतबार
  • १२ः०६ दिउँसो

संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने दलहरूको संख्या बढ्दै

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार ०१:३९

मंसिर ११, २०८२ काठमाडौं – आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा संयुक्त चुनाव चिह्न प्रयोग गरेर निर्वाचनमा सहभागी हुने दलहरूको संख्या बढ्दै गएको छ। निर्वाचन आयोगका नियमअनुसार एकभन्दा बढी दलले एउटै चिह्नमा संयुक्त रूपमा निर्वाचन लड्न चाहँदा आयोगको स्वीकृति लिनुपर्छ। त्यसका लागि सम्बन्धित दलले संयुक्त रूपमा कुन चिह्न प्रयोग गर्ने भन्ने स्पष्ट उल्लेखसहित आयोगमा निवेदन पेस गर्नुपर्छ।

National Life

यही व्यवस्था अनुसार हालसम्म विभिन्न दलहरूले संयुक्त चुनाव चिह्नका लागि आयोगमा निवेदन बुझाएका छन्। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले बिजुलीको चिम चुनाव चिह्नमा संयुक्त रूपमा चुनाव लड्ने निर्णय गर्दै आयोगमा निवेदन दिएका छन्। त्यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टी नेपालले जाँतो चुनाव चिह्नमा संयुक्त रूपमा निर्वाचनमा जाने तयारी गरेका छन्।

यस्तै नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले पनि एउटै चुनाव चिह्नमा संयुक्त रूपमा सहभागिताका लागि आयोगमा निवेदन दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ अनुसार दुई वा दुईभन्दा बढी दलले कुनै दलले पहिले प्राप्त गरेको वा नयाँ सहमति गरिएको कुनै अन्य चिन्हमार्फत पनि संयुक्त रूपमा निर्वाचनमा भाग लिनसक्छन्। संयुक्त उम्मेदवारी दर्ता गर्दा उम्मेदवार कुन दलसँग सम्बन्धित हो भन्ने विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ।

संयुक्त रूपमा निर्वाचन लड्ने दलहरूमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलकै नाममा एक मात्र संसदीय दल गठन हुनेछ। संयुक्त मोर्चामा सहभागी अन्य दलका निर्वाचित सदस्यहरू पनि सोही संसदीय दलअन्तर्गत मानिने व्यवस्था छ। यदि नयाँ संयुक्त चुनाव चिह्न प्रयोग गरिएको छ भने, निर्वाचित सदस्यहरूले राजनीतिक दल सम्बन्धी ऐनको दफा २४ अनुसार नयाँ संसदीय दल गठन गर्न सक्नेछन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ८४ दलले निर्वाचन लडेका थिए। यसपटक निर्वाचनमाथि चासो बढेसँगै दल दर्ता गराउने संख्या पनि उल्लेख्य रूपले बढेको छ। बुधबारसम्म १०६ दल निर्वाचन प्रयोजनका लागि दर्ता भइसकेका छन् भने दल दर्ताको समय मंसिर १४ गतेसम्म थपिएकाले संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

प्रतिकृया