• २८ भदौ २०८३, आइतबार
  • २ः५४ दिउँसो

चुच्चे नक्सा र नयाँ डिजाइनसहितको १०० रुपैयाँ नोट आजदेखि चलनमा

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार १०:५६

मंसिर ११, २०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले उन्नत सुरक्षा विशेषतासहितको नयाँ १०० रुपैयाँको नोट आज (मंसिर ११)देखि चलनचल्तीमा ल्याउने भएको छ। मुद्रा व्यवस्थापन विभागका अनुसार नोटको आकार, कागज र आधारभूत रंग पुरानै रहने भए पनि संकेत नम्बर क२० ०००००१ देखि घ४० ९९९९९९ सम्मका नयाँ नोट सार्वजनिक हुनेछन्। यी नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्य समावेश गरिएको छ।

National Life

नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप र बीचमा अद्यावधिक चुच्चे नक्सा राखिएको छ। यो नक्सा २०८१ वैशाख २० गते तत्कालीन प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को निर्णयका आधारमा समावेश गरिएको हो। अशोक स्तम्भसँगै अंग्रेजीमा ‘Lumbini, the Birth Place of Lord Buddha’ लेखिएको छ। दृष्टिविहीनका लागि छामेर पहिचान गर्न सकिने कालो उठेको थोप्ला तथा अण्डाकार घेराभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र पनि छ।

नोटमा प्रयोग गरिएको सुरक्षा धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने २ मिमीसम्म चौडा बनाइएको छ। नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहनेछ भने तल्लो भागमा ‘वि.सं. २०८१’ उल्लेख गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पछाडिको भागमा माथि अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने बीचभागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र छ। तल्लो किनारामा ‘Rupees Hundred’ तथा सिरिज ‘2024 AD’ अंकित छ।

यसअघि २०७६ असोज ७ गते चलनमा ल्याइने भनिएको सेरिज २०१९ का १०० रुपैयाँ नोट संकेत नम्बर ओ१८ ०००००१ देखि क३७ ९९९९९९ सम्म भए पनि व्यवहारमा ओ१८ ०००००१ देखि क१९ ०३४५०० सम्मका नोट मात्र प्रचलनमा आएका थिए। नयाँ नोट देशभरका बैंक तथा वित्तीय संस्थामार्फत क्रमिक रूपमा बजारमा प्रवेश गराइने राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया