• २८ भदौ २०८३, आइतबार
  • १२ः०१ दिउँसो

नक्कली पीएचडी देखाएर सहपरीक्षा नियन्त्रक नियुक्ति, टीयूका ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८२ मंसिर १० गते, बुधबार ०५:१३

मंसिर १०, २०८२ काठमाडौं – त्रिभुवन विश्वविद्यालय (टीयू)मा झुटाे विवरणकाे आधारमा सहपरीक्षा नियन्त्रक नियुक्त गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पीएचडी उपाधि नपाईकन आफूलाई विद्यावारिधि सम्पन्न भनी दाबी गर्दै कागजात पेश गर्ने सहप्राध्यापकसहित छनौट समितिका तीन प्राध्यापकमाथि मुद्दा दायर गरिएको हो।

National Life

अख्तियारका अनुसार भ्रष्टाचार मुद्दा खेप्नेहरुमा छनौट समितिका संयोजक प्रा. डा. जयालक्ष्मी प्रधान, सदस्यहरु प्रा. डा. मोतिलाल शर्मा र प्रा. डा. मेधराज पोखरेल, तथा झुटाे विवरण पेश गर्ने सहप्राध्यापक डिल्लीराम प्रसाईं रहेका छन्।

टीयू रजिष्ट्रार कार्यालयले एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदकाे विज्ञापन निकालेको थियो। सो पदमा छ जनाले आवेदन दिएका थिए। प्रतिस्पर्धीमध्ये एक छनौट गर्न टीयूले प्रधानको संयोजकत्वमा शर्मा र पोखरेल सदस्य रहेको तीन सदस्यीय समिती बनाएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिस्पर्धी डिल्लीराम प्रसाई̃ले आफूले विद्यावारिधि (पीएचडी) गरेको भनी नाम अगाडि डा. लेखेका थिए र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागिताका प्रमाणपत्रसहित कागजात पेश गरेका थिए। विद्यावारिधि पूरा गरिसकेका उम्मेदवारले अतिरिक्त ८ अंक पाउने व्यवस्था थियो।

अभिलेखअनुसार प्रसाईंले २७ भदौमा विद्यावारिधिको अन्तिम मौखिक परीक्षा दिएका थिए तर उपाधि भने २९ माघमा मात्रै पाएका थिए। ५ पुसमा डीन कुशुम शाक्यको अध्यक्षतामा बसेको अनुसन्धान समितिले प्रसाईंको शोधपत्र अन्तिम रूपमा स्वीकृत नभएको निष्कर्ष निकालेको थियो। तर,प्रसाईंले उपाधि नपाउँदै पीएचडी सम्पन्न गरेको भनी कागजात तयार पारी पदको लाभ लिन खोजेको अख्तियारले जनाएको छ।

प्रसाईंले पेश गरेको झुटाे विवरण छानबिन नगरी स्वीकार गरेको आरोपमा संयोजक प्रधान, तथा सदस्य शर्मा र पोखरेलमाथि समेत भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियारले चारै जनामाथि नपाएको ओहोदा पाएको भनी दाबी गर्ने र झुटाे विवरण पेश तथा स्वीकार गरी अनुचित लाभ लिन खोज्ने कार्य भ्रष्टाचार निवारण ऐनअन्तर्गत कडा अपराधको दायरामा पर्ने जनाएको छ।

प्रतिकृया