• २८ भदौ २०८३, आइतबार
  • २ः५५ दिउँसो

उम्मेदवारलाई निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता अनिवार्य

प्रकाशित मिति

२०८२ मंसिर ९ गते, मंगलवार १०:२४

मंसिर ९, २०८२ काठमाडौं – आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च छुट्टै बैंक खातामार्फत मात्रै गर्नुपर्ने व्यवस्था गरिएको छ।

National Life

आचारसंहिताको बुँदा नम्बर १६ मा निर्वाचन खर्चसम्बन्धी आचरण विस्तृत रूपमा समेटिएको छ। त्यसअनुसार उम्मेदवारले मनोनयन दर्ता गर्दा नै निर्वाचनमा खर्च हुने अनुमानित रकम र त्यसको स्रोत खुलाउनु पर्नेछ। सोही खर्चका लागि अलग बैंक खाता खोल्नुपर्ने व्यवस्था प्रस्तावमा उल्लेख छ।

आयोगका अनुसार उम्मेदवार वा दलले निर्वाचन खर्च गर्दा बैंक वा वित्तीय संस्थामार्फत हुने कारोबारलाई अनिवार्य बनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

२५ हजार रुपैयाँभन्दा बढी सहयोग प्राप्त गर्दा बैंकिङ् माध्यम प्रयोग गर्नुपर्ने, नगदमा पाइएको स्वेच्छिक सहयोगलाई रसिद/भरपाई सहित सम्बन्धित बैंक खातामा जम्मा गर्नुपर्ने प्रावधान राखिएको छ।

निर्वाचन खर्च सम्बन्धी आचरणसँग सम्बन्धित ११ वटा बुँदा प्रस्तावित 

  • उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफुले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत समेत खुलाउनु पर्ने,
  • उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नु पर्ने,
  • उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने,
  • खण्ड ग बमोजिम तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने,
  • राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गर्नु पर्ने,
  • पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नु पर्ने,
  • व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा दलको बैंक खातामा जम्मा गर्नु पर्ने,
  • खर्चको विवरण तथा बिल भरपाई राखु पर्ने,
  • आम्दानी तथा खर्चको विवरण प्रचलित कानून बमोजिम आयोगले तोकेको ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने,
  • आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने,
  • निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने ।

प्रतिकृया