लुम्बिनी प्रदेश सभाको सातौँ हिउँदे अधिवेशन आजबाट सुरु
प्रकाशित मिति
२०८२ मंसिर ८ गते, सोमबार ०९:२२
मंसिर ८, २०८२ काठमाडौं – लुम्बिनी प्रदेश सभाको सातौँ हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्नेछ।
बैठकको प्रारम्भमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी सूचना पढेर सुनाउने कार्यक्रम रहेको छ। साथै, मन्त्रिपरिषद् पुनर्गठन तथा छैटौँ अधिवेशनबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरू पनि सभामा प्रस्तुत गरिनेछ।
यसपछि दल–दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने क्रम सुरु हुनेछ। हिउँदे अधिवेशनका लागि प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन विधेयक तथा स्थानीय तहका पदाधिकारी र सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ संशोधन विधेयक दर्ता भइसकेका छन्।
यसबाहेक प्रदेश मन्त्रिपरिषद्ले केही नयाँ विधेयक पेस गर्न स्वीकृति पनि दिएको छ। लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन विधेयक, र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक सभामा टेबुल हुनेछन्।
हिउँदे अधिवेशनमा विभिन्न समितिका प्रतिवेदनहरू तथा महालेखा परीक्षकको प्रतिवेदनसमेत छलफलका लागि प्रस्तुत गरिनेछ। लुम्बिनी प्रदेशको वर्षे अधिवेशन गत भदौ ३१ मा अन्त्य भएको थियो। कानुनअनुसार एक अधिवेशन र अर्को अधिवेशनबीच ६ महिनाभन्दा बढी अन्तर नहुने व्यवस्था छ, जसअनुसार आजदेखि सुरु हुँदै गरेको हिउँदे अधिवेशन समयमै आह्वान गरिएको हो।








प्रतिकृया