• २० असोज २०८३, मंगलबार
  • ८ः०३ बिहान

हेटौंडामा सडक सीमा अतिक्रमण खाली गर्न १५ दिने अल्टिमेटम

प्रकाशित मिति

२०८२ मंसिर ५ गते, शुक्रबार ०९:०६

मंसिर ५, २०८२ मकवानपुर — हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा अतिक्रमण हटाउन सडक डिभिजन कार्यालय हेटौंडाले फेरि एकपटक १५ दिने अल्टिमेटम जारी गरेको छ।

National Life

शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै डिभिजनले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, र बुद्धचोकदेखि सामरी पुलसम्म सडक केन्द्र–रेखाबाट २५–२५ गज (७५–७५ फिट) भित्र बनेका स्थायी तथा अस्थायी संरचना, घरटहरा तथा अन्य निर्माण समग्र रूपमा हटाउन निर्देशन दिएको हो।

सडक डिभिजनले यसअघि पनि दुई वर्षअघि अतिक्रमण हटाउने उद्देश्यले सूचना जारी गरेको थियो तर घरधनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेपछि प्रक्रिया रोकिएको थियो। पछिल्ला सर्वोच्च अदालतका उत्प्रेषण आदेश तथा २०७८ पुस १९ गतेको फैसलाले २५–२५ गज भित्रका संरचनाका लागि क्षतिपूर्ति नपाइने स्पष्ट भएपछि डिभिजनले पुनः कडाइका साथ प्रक्रिया अघि बढाएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

डिभिजनका अनुसार २०८० असार १० मा निकालिएको अर्को सूचनाविरुद्ध दर्ता भएका रिट निवेदनहरू पनि सर्वोच्च अदालतले खारेज गरिसकेको छ। त्यसपछि डिभिजनले अतिक्रमित क्षेत्र खाली गराउन पुनः सक्रियता बढाएको हो।

यसअघि असार २०७६ मा सूचना जारी गरी १ नम्बर वडामा सरकारी कार्यालयहरूले उपभोग गरिरहेको सडक क्षेत्र खाली गराएपछि स्थानीय र प्रहरीबीच राप्ती रोड क्षेत्रमा झडप समेत भएको थियो। त्यसयता उद्योग वाणिज्य संघको नेतृत्वमा निरन्तर विरोध भइरहे पनि सडक विस्तारको आवश्यकतामा जोड दिँदै डिभिजनले प्रक्रिया अघि बढाएको जनाएको छ।

डिभिजनले घरटहरा र संरचना भएका व्यक्तिहरूलाई १५ दिनभित्र आफ्ना निर्माण हटाई सडक सीमा खाली गर्न आग्रह गर्दै उल्लिखित क्षेत्रभित्र अब कुनै किसिमको क्षतिपूर्ति पनि नपाइने पुनः स्पष्ट पारेको छ।

प्रतिकृया