• १७ असोज २०८३, शनिबार
  • ८ः२२ राती

नियम उल्लंघनमा कुमारी बैंक र प्राइम कमर्सियल बैंकमाथि राष्ट्र बैंकको कारबाही

प्रकाशित मिति

२०८२ कार्तिक २४ गते, सोमबार ११:२७

कात्तिक २४, २०८२ काठमाडौं — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उल्लंघन गरेको ठहर गर्दै दुई वाणिज्य बैंकमाथि कारबाही गरेको छ। बैंकले जारी गरेको सूचनामा कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडलाई पहिलोपटकका लागि सचेत गराइएको उल्लेख छ।

National Life

राष्ट्र बैंकका अनुसार, कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्ति, फर्म वा कम्पनीसँग बैंकिङ कारोबार गर्न नपाइने व्यवस्था उल्लंघन गरेको पाइएको हो। राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ अन्तर्गतको इ.प्रा. निर्देशन नं. १२/०८१ को बुँदा नं. ९ उपबुँदा नं. २ (ङ)(५) अनुसार, कालोसूचीमा सूचीकृत ग्राहकले सूचीबाट फुकुवा नभएसम्म खातामा रकम जम्मा गर्न बाहेक अन्य बैंकिङ कारोबार गर्न नपाउने प्रावधान छ।

उक्त प्रावधानको पालना नगरेको पाइएपछि कुमारी बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम सचेत गराइएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंकले पनि नियम उल्लंघन गरेको पाइएको छ। राष्ट्र बैंकका अनुसार, सो बैंकले एकीकृत निर्देशन २०८१ अन्तर्गतको इ.प्रा. निर्देशन नं. २/०८१ को बुँदा नं. १(ख) अनुसार कर्जाको वर्गीकरण तोकिएकै मापदण्डअनुसार नगरेको थियो। साथै, सोही निर्देशनको बुँदा नं. ९ उपबुँदा (१) अनुसार नोक्सानी व्यवस्थापन र जोखिम भार गणना गर्दा क्यापिटल एडेक्वेसी फ्रेमवर्क २०१५ का आधारमा गणना नगरेको पनि पाइएको हो।

राष्ट्र बैंकले यस आधारमा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ खण्ड (क) बमोजिम सचेत गराएको छ।

राष्ट्र बैंकले भनेको छ, “नियमको पालना नगर्ने बैंक तथा वित्तीय संस्थामाथि निगरानी कडा पारिएको छ, दोहोरिएमा कानूनी कारबाही गरिनेछ।”

प्रतिकृया