निर्वाचनमा नेपाली कांग्रेस भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ: गगन थापा
प्रकाशित मिति
२०८२ कार्तिक २४ गते, सोमबार ११:१६
कात्तिक २४, २०८२ काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस सहभागी हुने र निर्वाचन सफल बनाउने स्पष्ट घोषणा गरेका छन्।
थापाले आज बिहान सामाजिक सञ्जालमार्फत लेखेका छन् ,“नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ।”
उनका अनुसार उक्त निर्वाचनबाटै नयाँ संसद् गठन हुनेछ र संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो। “संविधानलाई सही मार्गमा ल्याउने यही बाटो हो, यसमा कुनै अलमल छैन,” उनले भनेका छन्।
थापाले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि कांग्रेसले यही अडान प्रस्तुत गरेको जानकारी दिएका छन्।
उनले स्पष्ट पारेका छन् कि कांग्रेसभित्र भइरहेको हालको छलफल निर्वाचनमा सहभागिता वा बहिष्कारबारे नभई, निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने विषयमा केन्द्रित छ। थापाले भनेका छन्, “निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो।”
उनका अनुसार अहिलेको छलफल र अलमल यही विषयमा मात्र सीमित छ, फागुन २१ गतेको निर्वाचनमा कांग्रेसको सहभागिताबारे कुनै द्विविधा छैन।








प्रतिकृया