२० कम्पनीको सेयरमा नकारात्मक सर्किट, आज आठ बीमा कम्पनीसहित कारोबार रोकियो
प्रकाशित मिति
२०८२ आश्विन २ गते, बिहीबार ०३:४४
असोज २, २०८२ काठमाडौं– जेनजी आन्दोलनपछिको आर्थिक प्रभाव शेयर बजारमा गहिरिँदै जाँदा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तेस्रो पटक नकारात्मक सर्किट लागेर कारोबार पूर्ण रूपमा बन्द भएको छ।
कुल २० कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा बजार स्वतः स्थगनमा गएको हो। तीमध्ये आठ वटा बीमा कम्पनी रहेका छन्, जसमा आन्दोलनका कारण भएको सम्पत्ति क्षतिसँग जोडिएको बीमा दाबीको ठूलो चापले सीधा प्रभाव पारेको विश्लेषण गरिएको छ।
नकारात्मक सर्किट लाग्ने प्रमुख कम्पनीहरूमा उन्नती सहकार्य लघुवित्त, नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रेड टावर, सिन्धु विकास बैंक, सोल्टी होटेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र सिनर्जी पावर डेभलपमेन्ट छन्।
यसैगरी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र सप्तकोसी डेभलपमेन्ट बैंक का सेयर पनि ९.९९ प्रतिशत ले घटेका छन्, जुन सर्किट ब्रेकर नजिकको सीमा हो।
साथै, चन्द्रागिरी हिल्स, शिखर इन्स्योरेन्स, हिमालयन पाटनर्स, नेशनल हाइड्रो, एनएलजि इन्स्योरेन्स, युनाइटेड अजोड, बेष्ट फाइनान्स, ओरियन्टल होटल र आँखुखोला जलविद्युत पनि नकारात्मक सर्किटमा पुगेका छन्।
विशेषज्ञहरूका अनुसार आन्दोलनपछिको सामाजिक अशान्ति, सम्पत्ति ध्वंस, र आगामी अनिश्चितता शेयर बजारमा लगानीकर्ताको मनोबल गिराउने प्रमुख कारक बनेका छन्। त्यसमा थप योगदान बीमा कम्पनीहरूमा परेको दाबीको चाप र वित्तीय जोखिमले दिएको छ।
बजारमा यस्तो अस्थिरता कायम रहे नेप्से र नियामक निकायहरूलाई जोखिम न्यूनीकरण तथा लगानीकर्ता संरक्षणका लागि तुरुन्त हस्तक्षेप गर्नु आवश्यक देखिएको छ।








प्रतिकृया