रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
प्रकाशित मिति
२०८२ भाद्र २४ गते, मंगलवार १२:४६
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले संसदबाट राजीनामा दिने तयारीमा छन्। रास्वपाका प्रवक्ता मनिष झाले भर्खरै सुरु भएको संसदीय दलको बैठकमा सांसदहरूलाई राजीनामा गराउने निर्णय गरिने जानकारी दिएका छन्।
रास्वपा सभापति रवि लामिछाने, जो सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा छन्, सोमबार साँझ आफ्ना सांसदलाई आवश्यक परे राजीनामा गर्न तयार रहन निर्देशन दिएका थिए।
यसअघि जेनजी युवाहरूको प्रदर्शनका क्रममा सोमबार प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा उत्रिएका युवाहरूमाथि दमन भएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो। रास्वपाले यस प्रदर्शनमा ऐक्यबद्धता जनाएको छ।
मंगलबार पनि युवाहरू काठमाडौंसहित देशभर सडकमा प्रदर्शनमा छन्। उनीहरूले संसद विघटनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन्। रास्वपाका २१ सांसदमध्ये सांसद असिम शाहले यसअघि नै राजीनामा घोषणा गरिसकेका छन्।








प्रतिकृया