नेपाली कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापतिमा अगाडि बढाउने
प्रकाशित मिति
२०८२ भाद्र १९ गते, बिहीबार ०२:०७
भदौ १९,२०८२ काठमाडौं – नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार नेकपा एमालेले उम्मेदवार नदिने भएकाले खतिवडा निर्विरोध निर्वाचित हुने वातावरण बनेको छ।
यसअघि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए। कुलिङ अफ पिरियडको गडबडीसम्बन्धी प्रतिवेदन आएपछि उनले राजीनामा दिएका थिए। त्यसपछि रिक्त पदमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भइसकेकी छन्। न्यौपाने सुनुवाइ समिति सभापति छाडेर राज्य व्यवस्था समिति सभापति बनेकी हुन्।
अब खतिवडा सुनुवाइ समितिको सभापति हुने भएका छन्। संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भोलि (शुक्रबार) हुने भएको छ। आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ भने निर्वाचन भोलि साँझ ५ बजे सम्पन्न हुनेछ, सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन्।






प्रतिकृया