नेप्सेमा लगातार गिरावट, कारोबार भने बढ्यो
प्रकाशित मिति
२०८२ भाद्र ८ गते, आईतवार ०३:२६
भदौ ८,२०८२ काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले आइतबार पनि सोही गिरावटको क्रमलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक १७.०२ अंकले घटेर २७४०.९५ विन्दुमा झरेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स २.८६ अंक, फ्लोट इन्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.११ अंकले घटेका छन्।
नेप्से घटेपनि बजारमा कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो कारोबार दिन (बिहीबार) ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएको थियो भने आइतबार ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यो कारोबार ३२३ वटा स्टकको ५८,१०५ पटकको किनबेच मार्फत १ करोड ४० लाख ९ हजार कित्ता शेयरमा सम्पन्न भएको हो।
विकास हाइड्रोपावर कम्पनीको शेयर यस दिन पनि पोजिटिभ सर्किट लेभलमा कारोबार भयो। कम्पनीको शेयरमूल्य ३५ रुपैयाँ ३० पैसा ले वृद्धि भई अन्तिम कारोबार ३८८ रुपैयाँ ७० पैसामा भएको छ। त्यस्तै, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ, भने अन्य कम्पनीहरूको मूल्य वृद्धि ४ प्रतिशतभन्दा कम रह्यो।
आइतबार नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७.२९ प्रतिशतले घटेर दिनको सबैभन्दा बढी गिरावट भएको स्टक बन्यो।
कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी लिमिटेड आज पनि शीर्ष स्थानमा रह्यो। कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो।
त्यसपछि, नेपाल पुनर्बीमा कम्पनीको झण्डै २४ करोड रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज १३ मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक मात्र बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक १.६७ प्रतिशतले घटेर सबैभन्दा बढी गिरावट आएको उपसमूह बन्यो। जलविद्युत उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ।








प्रतिकृया