भट्टराईले प्रचण्डलाई भने, “कुलिङ अफ पिरियडमा तपाईँ स्वयं छानबिनको घेरामा पर्नुहुन्छ”
प्रकाशित मिति
२०८२ श्रावण ११ गते, आईतवार ०९:५०
श्रावण ११,२०८२ काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ विषयमा दिएको अभिव्यक्तिप्रति सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।
भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत दाहाललाई सम्बोधन गर्दै तीनवटा बुँदामा गम्भीर प्रश्न उठाएका छन्। उनले प्रचण्डलाई “आफ्नै बोली आफैँलाई गलापासो नहोस्” भन्दै कटाक्ष गरेका छन्।

उनले फेसबुकमा भनेका छन्:

कमरेड पुष्पकमल दाहालज्यू
लालसलाम
तपाईंले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबीन गर्नु पर्ने भनेर मंतव्य दिनु भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । निम्न विषयमा तपाईको ध्यानाकर्षण सहित जवाफको अपेक्षा गर्दछु ।
1. हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नु पर्छ भन्ने पक्षमा छौ र यो विषयको संशोधन हामीले ( सांसदहरू) नै राखेका हौ । आज पनि हामी यो अड़ानमा कायम छौ ।
2. तपाईंले वर्तमान प्रम केपी ओलीमाथि व्यंग्य गर्नु भएछ । तपाई कुलिङ अफ पिरियडका सम्बन्धमा “प्रचण्ड” अड़ानमा हो भने मेरो प्रश्न छ २०८० फागुन ११ गते संसदमा बिधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुँथ्यों र तपाई कै अध्यक्षतामा बसेको मंत्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो । जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेंचमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो? सांसदहरूको संशोधन प्रस्ताव पछि मात्र यो विषयको बहस शुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस ।
3. प्रतिनिधिसभाको राज्य ब्यबस्थ तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राख़्ने निर्णय गरेको थियो । तर समितिको प्रतिबेदन संसदमा पेश गर्दा यो ब्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होईंन र? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की? आफनै बोली आफैलाई गलापासो नहोस!




प्रतिकृया