आजदेखि बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिन सकिने
प्रकाशित मिति
२०८२ श्रावण ६ गते, मंगलवार १२:५९
श्रावण ६ ,२०८२ काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) आज (साउन ७ गते) देखि खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन सुरु गरेको हो।
कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ जारी पूँजीको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यस चरणमा आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख ६६ हजार कित्ता शेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५ लाख २९ हजार ४०० कित्ता शेयर निष्काशन गरिएको छ।
स्थानिय बासिन्दाहरूले साउन २० गतेसम्म (छिटोमा) वा भदौ ४ गतेसम्म (ढिलोमा) आवेदन दिन सक्नेछन्। उनीहरूले बन्दीपुर गाउँपालिका (सवै वडा), आँबुखैरेनी गाउँपालिका (सवै वडा), भानु नगरपालिका वडा नं. १ र गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ बाट आवेदन दिन सक्नेछन्। दरखास्त फारामको शुल्क २ रुपैयाँ तोकिएको छ।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेदेखि साउन २० गतेसम्म आवेदन दिन सक्नेछन्। उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त ‘आस्बा’ सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू मार्फत वा मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानिय तहका कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। बन्दीपुर केवलकार परियोजना नेपालको महत्वपूर्ण पर्यटन पूर्वाधारको रूपमा विकास हुँदैछ, जसले पर्यटन प्रवर्द्धनसंगै स्थानीय रोजगारी र आर्थिक गतिविधिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।








प्रतिकृया