राप्ती हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका
प्रकाशित मिति
२०८२ असार २४ गते, मंगलवार १०:१२
असार २४, २०८२ काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडद्वारा जारी गरिएको हकप्रद शेयरमा आवेदन दिन आज असार २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले असार १ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आजको बैंकिङ समयभित्र मात्र आवेदन दिन सकिनेछ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अनुपातमा, अर्थात् एक कित्ता बराबर एक कित्ताको दरले हकप्रद शेयर जारी गरेको हो। यसअनुसार, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६१ लाख २७ हजार ९३८ कित्ता शेयर जारी गरिएका छन्, जसबाट कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।
हकप्रद शेयरका लागि कम्पनीले जेठ ६ गते बुकक्लोज गरिसकेको छ। त्यस अनुसार, जेठ ५ गतेसम्म नेप्सेमा कम्पनीको शेयर खरिद गरी कायम रहेका शेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्।
इक्रा नेपालले राप्ती हाइड्रोलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले क्यापिटलको कार्यालय नारायणचौर नक्साल काठमाडौं, राप्ती हाइड्रोको त्रिपुरेश्वरस्थित कर्पोरेट कार्यालय तथा मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सि–आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरू वा ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइनबाट पनि सजिलै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
हाल कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि पूँजी दोब्बर भई १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ।






प्रतिकृया