• २१ असोज २०८३, बुधबार
  • ५ः१९ बिहान

जम्बो टोलीसहित स्पेन जाँदै प्रधानमन्त्री, यस्तो छ भ्रमणको तयारी र कार्यक्रम

प्रकाशित मिति

२०८२ असार १४ गते, शनिबार ११:०२

National Life

असार १४ , २०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ (एफएफडी–४०) मा सहभागी हुन आज साँझ स्पेन प्रस्थान गर्दैछन्। सेभिल्ला शहरमा हुने यस सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री ओलीले गर्नेछन्।

उक्त सम्मेलन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा आयोजना हुँदैछ। सम्मेलनमा विश्वका विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुख, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय वित्तीय संस्था, व्यापारी, नागरिक समाज र यूएन प्रणालीका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले सम्मेलनमा अल्पविकसित, साना र टापु राष्ट्रहरूको आवाज बुलन्द गर्दै ती मुलुकका हितमा वकालत गर्ने कार्यक्रम छ। विशेषगरी सम्पन्न राष्ट्रहरूले गरिब र साना मुलुकप्रति गरेका वित्तीय प्रतिवद्धता कार्यान्वयनबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र समकक्षी प्रधानमन्त्री पेड्रो सान्चेजसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, प्रधानमन्त्रीले विभिन्न मुलुकका राष्ट्र प्रमुखहरूसँग साइडलाइन भेटवार्ता पनि गर्नेछन्। प्रधानमन्त्री ओली आज साँझ ६ बजे कतारको दोहा हुँदै स्पेनको मेड्रिडतर्फ प्रस्थान गर्नेछन्। सम्मेलन असार १६ देखि १९ गतेसम्म चल्नेछ। ओली यही असार २० गते शुक्रबार साँझ ४:४५ बजे स्वदेश फर्किने तालिका छ।

प्रधानमन्त्रीको यो भ्रमणमा कूल २९ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ, जसमा काठमाडौँबाट २१ र स्पेन तथा न्यूयोर्कस्थित नेपाली नियोगबाट ८ जना सहभागी हुनेछन्।

उच्चस्तरीय भ्रमण दलमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रमूख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. स्मृति शाक्यलगायत उच्च अधिकारीहरू सहभागी छन्।

त्यस्तै, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि भ्रमण टोलीमा छन्।

प्रतिकृया