महालक्ष्मी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा
प्रकाशित मिति
२०८२ जेष्ठ १२ गते, सोमबार ०४:०९
ललितपुर । महालक्ष्मी नगरपालिकाको वडा नं ८ लुभुस्थित देवीस्थानमा आइतबार एक कार्यक्रम आयोजना गरि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको छ । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्यसचिव तथा जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.भुवन पौडेलले नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरेको हो ।
प्रमाणपत्रमा नगरप्रमुख श्रेष्ठले सबै वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मीहरुले हस्तान्तरण गरेका थिए । महालक्ष्मी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत हिमलाल ज्ञवालीका अनुसार नगरपालिका भित्र १५ महिनाका ८३८ जना बालबालिका रहेका छन् । १६ देखि २३ महिना बालबालिकाहरुको संख्या ७१४ रहेको छ ।

खोप लगाउनुपर्ने उमेर समूहका सबै बालबालिकाहरुले सरकारले उपलव्ध गराएको १३ वटा खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाणपत्र दिईएको हो ।

नपालिकाका जनस्वास्थ्य निरीक्षक भरत बोहराका अनुसार गत २३ पुसमा पालिकास्तरको पूर्णखोप समन्वय समितिको बैठक बसेको थियो भने २६ पुसदेखि वडास्तरको बैठकहरू सञ्चालन भएका थिए।
पालिकास्तरमा नगरप्रमुख र वडास्तरमा वडाध्यक्षको अध्यक्षतामा बैठक बस्ने व्यवस्था गरिएको थियो। तालिमपछि माघ, फागुन र चैत महिनामा १० वटै वडामा घरधुरी सर्वेक्षण गरिएको थियो, जसको क्रममा ४ जना बालबालिका खोपबाट छुटेका भेटिए। तिनलाई खोप दिएपछि वडास्तरबाट पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको थियो।
खोप शाखा प्रमुख ज्ञवालीका अनुसार खोप दावी गरिएका वडाहरूमा सामाजिक विकास समिति संयोजक बाबुराजा महर्जनको अध्यक्षतामा खोप सर्वेक्षण समिति गठन गरी पुनः निरीक्षण गरिएको थियो। त्यसपछि जिल्ला खोप समन्वय समितिका संयोजक ऋषिदेव फुयालको नेतृत्वमा पुनः रेण्डम सर्भेक्षण पनि सम्पन्न भएको थियो। वडाको दावी र सर्भेक्षणको आधारमा खोप छुटेको छैन भन्ने पुष्टि भएपछि पालिकामा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो।
घोषणा सभामा नगरप्रमुख श्रेष्ठले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिकालाई उल्लेख गर्दै बधाई दिए। कार्यक्रममा उपप्रमुख लक्ष्मी महर्जन, जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा। भुवन पौडेल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडाध्यक्षहरू, विभिन्न शाखा प्रमुखहरू, कर्मचारीहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति थियो।




प्रतिकृया