• ३ असोज २०८३, शनिबार
  • ४ः०७ बेलुका

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

प्रकाशित मिति

२०८१ चैत्र ११ गते, सोमबार ०९:४२

चैत्र ११, २०८१ काठमाडौँ: मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । सुक्खायाम सुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रोे युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् ।

National Life

कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । “आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ”, कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भने, “यही चैत ३ गतेदेखि तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन आएका छन् ।” आवश्यकतानुसार विद्युत् उत्पादन भइरहेको उहाँले बताउनुभयो ।

रनअफ रिभरमा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका कुलेखानी जलविद्युत् केन्द्र प्रथमका सहायक इन्जिनियर रामकुमार बुढाथोकीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

“वर्षात्को समयमा रनअफ रिभरमा आधारित आयोजना पूर्ण रूपमा सञ्चालनमा हुन्छ”, सहायक इन्जिनियर बुढाथोकीले भने, “त्यतिबेला हामी ड्याममा पानी सञ्चित गरेर राख्छौँ र सुक्खायाम सुरु भएसँगै रनअफरिभरमा आधारित आयोजनाको विद्युत् उत्पादन घट्छ ।” सुक्खायाममा कुलेखानी जलविद्युत्का युनिटहरू सञ्चालनमा आउने उनले बताए ।

“विद्युत भार व्यवस्थापन केन्द्रको आवश्यकतानुसार हामीले पूर्ण क्षमतामा सञ्चालन गर्दै आएका छौँ”, बुढाथोकीले भने, “अहिले दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन गरिरहेका छौँ, आवश्यक पर्यो भने हामी चौबीसै घण्टा विद्युत् उत्पादन गछौँँ ।”

सहायक इन्जिनियर बुढाथोकीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार दुई सय नौ मेगावाट विद्युत् उत्पादन गरेको छ । आव २०८०/८१ मा ३४ हजार तीन सय ८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो ।

प्रतिकृया