थानकोटदेखि धुलिखेलसम्मको रुटमा ४० नयाँ बस
प्रकाशित मिति
२०८१ माघ १० गते, बिहीबार ०५:०४
माघ १०, २०८१ काठमाडौँ: महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट—धुलिखेल सेवा सुरु गरेको हो । काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरू आजदेखि सञ्चालनमा ल्याएको हो ।
नयाँ बसहरू थपिएसँगै महानगर यातायातका बसहरू ८९ पुगेको प्रा.लि.ले जनाएको छ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले सोही कार्यक्रममा बसहरूको चाबी महानगर यातायात प्रा.लि.लाई हस्तान्तरण गरेको हो ।

नयाँ बसहरू सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरूमा पनि सेवा बिस्तार गरेको महानगर यातायात प्रा.लि.का उपाध्यक्ष सन्तोष खतिवडाले बताए । आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरि, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा यात्रुहरूलाई सेवा प्रदान गर्न सुरु गरेको बताए । साथै महानगर यातायात प्रा.लि.ले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी गराए ।

उनले महानगरपालिकाले छिटै नै १० वटा विद्युतीय बसहरू समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए । एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरू सञ्चालन गर्ने तयारी रहेको बताए ।




प्रतिकृया