• ८ असोज २०८३, बिहीबार
  • ७ः०४ बेलुका

अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै

प्रकाशित मिति

२०८१ आश्विन १६ गते, बुधबार ०१:२७

असोज १६ , २०८१ काठमाडौँ: नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल भएको छ । गत विहिबारदेखि शुरु भएको महाधिवेशनको एक साता हुदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन । संगठनमा उमेर हद बारेको विवाद चुलिएपछि महाधिवेशननै अन्योलमा परेको हो ।

National Life

यस अघि पार्टीको निर्देशनमा मंगलबार उमेर हदको विवाद मतदानबाट टुंगाउने तयारी गरिएपनि विभिन्न गुटको विवादका करण निर्वाचन प्रकृया नै शुरु हुन सकेन । उमेर हद विवादनै टुंगिन नसकेपछि नेतृत्व चयनको विषय त अझै धेरै पछाडी रहेको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन् । कैयौं प्रतिनिधि त महाधिवेशन अन्योल बनेपछि फर्किन थालेका छन् ।

अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ । उमेर हद लागु भएमा अहिले नेतृत्वको दाबि गरेका लगभग सबै नेताहरुको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ । आफ्नो राजनीतिक क्यारियरनै सकिने भएपछि धेरै सिनियर विद्यार्थी नेताहरु उमेर हदको विपक्षमा उभिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उमेर हदको विवादमा आपसमा कुर्सि हानाहानको अवस्था सिर्जना भएको थियो । अनेरास्ववियु क्रान्तिकारीमा विवाद बढेपछि पार्टीले हस्तक्षेपको तयारी गरेको छ । अब महाधिवेशन हलले उमेर हदको विवाद टुंगाउन नसकेपछि पार्टीले आज निर्णय लिन लागेको बताइएको छ । क्रान्तिकारीको महाधिवेशन बारे निर्णय लिन अध्यक्ष पुष्प कमल दाहालले आज आफ्नै निवासमा पदाधिकारीसँग छलफल गरिरहेको बताइएको छ । पार्टीले आज उमेर हदको विषयमा निर्णय लिएर नेतृत्व चयनको प्रक्रिया शुरु गर्नसक्ने बताइएको छ ।

अहिले क्रान्तिकारीको नेतृत्वको लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकाङ्क्षी रहेका छन् ।

यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ ।

प्रतिकृया