• 9:34 am

सीबी लामामाथि दुई सहकारीको डेढ अर्बभन्दा बढी ठगी आरोप

प्रकाशित मिति

२०८१ जेष्ठ २० गते, आईतवार ०५:११

जेठ २०, २०८१ काठमाडौँ : प्रहरीले सहकारी ठगी प्रकरणमा प्रकाउ गरेका चन्द्रबहादुर तामाङ (सीबी लामा) लाई आइतबार सार्वजनिक गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा बचतकर्ताको डेढ अर्बभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।

कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामाविरुद्ध कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८५२ जना र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध ५४ जनाको निवेदन परेको जानकारी दिए ।

प्रहरी वृत्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भई दुई-तीन महिनादेखि फरार रहेको अवस्थामा लामालाई जेठ १८ गते चितवनबाट पक्राउ गरिएको उनले बताए । प्रहरीले सार्वजनिक गर्ने क्रममा पक्राउ परेका लामाले आफूमाथि झुठो आरोप लगाइएको भन्दै अदालतले न्याय दिने दाबी गरे ।

२०५५ देखि ७६ सालसम्म कान्तिपुर सहकारीको अध्यक्ष रहेका लामा एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष हुन नपाउने नियम लगाएपछि राजीनामा दिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध विभिन्न प्रहरी इकाइहरूमा गरि अन्य चारवटा बैंकिङ कसुरको मुद्दा चलेको खुलेको छ । उनी अरू तीन वटा मुद्दामा फरार रहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया