प्रधानमन्त्री प्रचण्डलक्षित बाबुरामको टिप्पणी– व्यवस्था जोगाउने जिम्मेवारी पाएकाबाटै व्यवस्थामाथि संकट छ
प्रकाशित मिति
२०८० फाल्गुन २३ गते, बुधबार ०५:२३
फागुन २३, २०८० काठमाडौँ: पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्डप्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरूबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले विगतमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन क्रान्ति गर्नेहरूबाटै अहिले गणतन्त्रात्मक शासनलाई सक्ने काम भइरहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई भर्खर जन्मिएको बालकको रूपमा चित्रण गर्दै उनले प्रधानमन्त्री प्रचण्डले संघीयतालाई सक्ने काम गरिरहेको आरोप लगाए ।
उनले अहिले सरकार बच्चाको खेलजस्तो गरेर बनाउने, गिराउने काम भइरहेको पनि बताए । उनले कांग्रेस, कम्युनिस्ट, माओवादीहरू सबैको एउटै धर्म भनेको भ्रष्टाचार गर्नु रहेको बताए । उनले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक सांसद नभएसम्म अस्थिरता कायम भइरहेको जिकिर गरे । उनले आफ्नो पार्टी अरु पार्टीभन्दा उन्नत पार्टी भएकाले अरु पार्टीको पुच्छर नबन्ने दाबी गरे ।
उनले क्रान्तिको नेतृत्व गरेकाहरू नै सरकारमा रहँदा पनि विकास हुन नसकेको भन्दै उनीहरूको निकम्मापन, भ्रष्टीकरण, परिवारवाद र नांगो प्रकारको राज्यको दोहनले गर्दा जनतामा वितृष्णा उत्पन्न भएको बताए । अध्यक्ष भट्टराईले अहिले अस्थिरता सिर्जना गरेर व्यवस्थालाई नै धराशायी बनाउने काम भइरहेको आरोप लगाए ।






प्रतिकृया