नेप्सेमा १०.२६ अंकले वृद्धि, साढे ४ अर्बको सेयर किनबेच
प्रकाशित मिति
२०८० माघ १५ गते, सोमबार ०४:३१
माघ १५, २०८० काठमाडौँ: सेयर बजार परिसूचक सोमबार १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा पुगेको छ। बैंक, लघुवित्त र निर्जीवन बिमा बाहेकका बाँकी उपसमूहले नेप्से बढाएका हुन्। सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेको छ। नेप्से आइतबार पनि दोहोरो अंकले बढेको थियो।
सोमबार जलविद्युत र अन्य उपसमूहका कम्पनीको सेयर खरिद चापले नेप्से बढेको हो । अन्य उपसमूहको सूचक १.६४ र जलविद्युत उपसमूहको सूचक १.०८ प्रतिशतले बढेको छ। संस्थागत लगानीकर्ताले पनि सेयरमा लगानी बढाउन थालेकाले त्यसको प्रभाव सूचक र कारोबार रकम दुवै बढेको ब्रोकरहरुले बताएका छन्। उनीहरुका अनुसार बैंकको दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक भएपछि पर्ख र हेरको अवस्थामा बसेका कारोबारी अब सक्रिय हुन थालेका छन् ।
‘हिजोबाट बजार बढ्न थालेको छ। वेट एण्ड सीमा रहेका लगानीकर्ता सक्रिय भएका छन् । उनीहरुले लगानी बढाएका छन् । अपर तामाकोशीको हकप्रदको पैसा फिर्ता आएकाले पनि कारोबारमा केही सुधार देखिएको हो,’ सन् सेक्युरिटिजका ब्रोकर कृष्ण गिरीले भने ।
४ अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको ६० करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । खरिद चापका कारण कम्पनीको सेयर मूल्य प्रति कित्ता २५ रुपैयाँ बढेर ६७० रुपैयाँ पुगेको छ ।
युनियन हाइड्रोपावर, मिड सोलु र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिकृया