• ०४:३० २०८० फाल्गुन १२ गते
  • 4:30 am

बार्सिलोनाको जितमा गुन्डोगानको निर्णायक गोल

प्रकाशित मिति

२०८० पुष २० गते, शुक्रबार ११:१८

barcelona

पुस २०, २०८० काठमाडौँ: इल्काइ गुन्डोगानले इन्ज्युरी समयको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले लास पाल्मासविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ । बिहीबार राति पाहुना टोली बार्सिलोनाले १–० ले पछिको स्थितिबाट पुनरागमन गर्दै तीन अंक निश्चित गरेको हो । बार्सिलोनाको जितमा युवा खेलाडी फेरान टोरेस र गुन्डोगानले गोल गरे ।

घरेलु टोलीका मुनिर इल हदादीले १२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । बार्सिलोनाका टोरेसले ५५औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काए । इन्ज्युरी समयमा प्राप्त पेनाल्टीलाई गुन्डोगानले सदुपयोग गरेपछि बार्सिलोनाले रोमाञ्चक जित पक्का गरेको हो ।

पाल्मासका सिन्ग्राभेनले १८ यार्ड बक्सभित्र गुन्डोगानलाई लडाएपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको हो । जसमा गुन्डोगानले कुनै गल्ती गरेनन् । फाउल गरेका सिन्ग्राभेन रातो कार्डको दर्शक गर्दै मैदान छाडेपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।

यो जितले बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १९ खेलबाट ४१ अंक जोडेको छ । लास पाल्मास समान खेलबाट २५ अंकसहित दशौँ स्थानमा छ । समान ४८ अंक भए पनि जिरोनालाई पछि पार्दै रियाल मड्रिड शीर्ष स्थानमा छ ।

बिहीबार राति नै भएको खेलमा ओसासुनाले अल्मेरियालाई १–० र एथ्लेटिक बिल्वाओले सेभियालाई २–० ले हरायो ।

प्रतिकृया