• 10:27 am

सुर्यविनायक नगरपालिकाका छ वटा वडामा मेलम्चीको खानेपानी वितरणको लागि आयोजनाको शिलान्यास

प्रकाशित मिति

२०८० मंसिर ८ गते, शुक्रबार ०५:०५

मंसिर ८, २०८० भक्तपुर : भक्तपुरको सुर्यविनायक नगरपालिकाका छ वटा वडावासीले छिटै मेलम्चीको खानेपानी पाउने भएका छन् । नगरपालिका– ६ पाण्डु वजारमा रहेको ६० लाखको ट्याङ्की नजिकै आज सो योजनाको शिलान्यास गरिएको हो ।


योजना निर्माणका लागि नगरपालिकाले ८ करोड रुपैयाँ छुट्याएको छ । शुक्रवार बिहान सो आयोजनाको शिलान्यास बागमति प्रदेशसभा सदस्य किरण थापा, सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापा, उप प्रमुख सरिता तिम्सिना भट्टराईले संयुक्त रुपमा गरेका हुन् ।


कार्यक्रमलाई सम्बोधनगर्दै बाग्मती प्रदेश सभा सदस्य किरण थापाले खानेपानीको अभावका कारण काकाकुल अवस्थाका कारण रहेका एकदेखि छ नं वडाका स्थानीयलाई खानेपानीको व्यवस्था हुन लागेकोमा खुसी लागेको बताए ।


सो खानेपानी योजनाका लागि बाग्मति प्रदेश सरकारले ९५ लाख रूपैयाँ बिनियोजन गरेको बताउँदै थापाले थप १ करोड रूपैयाँ ल्याउन आफुले प्रयास गरिराखेको जानकारी दिए । अन्य खानेपानीको अभाव भएका नगर क्षेत्रमा समेत प्रदेश सरकार मार्फत काम अघि बढेको थापाको भनाई थियो ।


शिलान्यस कार्यक्रममा बोल्दै नगर प्रमुख बाशुदेव थापाले नगरपालिकाको सबैभन्दा ठुलो समस्याका रूपमा रहेको खानेपानीको समस्या निराकरण गर्न आफुहरुले चालु वर्षको वजेटमा सबै भन्दा बढी वजेट बिनियोजन गरेको बताए । खानेपानी संगै नगरपालिकाले शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको नगर प्रमुख थापको भनाई थियो ।


नगरपालिकाका इन्जिनीयर जनक न्यौपानेका अनुसार, योजना मार्फत नगरका १ देखि ६ नं वडासम्मका बासिन्दालाई चार इन्चको पाइप राखेर खानेपानी ख्वाउने लक्ष्य रहेको छ। सो योजनाबाट दैनिक दैनिक २० लाख लिटर पानी स्थानीयवासीले पाउँने नगरपालिकाका प्रबक्ता रबिन्द्र सापकोटाले बताए ।

प्रतिकृया