• 11:47 pm

४ जनाको सामूहिक हत्या प्रकरण: सीआईबीको टोली पुग्यो मुगु

प्रकाशित मिति

२०८० कार्तिक २१ गते, मंगलवार ०१:२८

कात्तिक २१, २०८० काठमाडौँ: एकै परिवारका ४ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थल, मुगु पुगेको छ। सीआईबीका डीएसपी धर्मराज भण्डारीसहितको टोली घटनास्थल पुगेको हो ।


लामो समयदेखि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान गर्दा पनि घटनामा संलग्नहरु पत्ता लाग्न नसकेपछि प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली परिचालन गरेको हो । अपराधी पत्ता लाग्न नसकेपछि भुटानी शरणार्थी प्रकरण, ६० किलो सुन तस्करी प्रकरणलगायतका अनुसन्धान गरेका डीएसपी भण्डारीलाई मुगु पठाइएको सीआईबी स्रोतले जनाएको छ ।


यसअघि स्थानीय प्रहरीले हत्यारा नजिक पुगेको दाबी गरे पनि अहिलेसम्म घटनाबारे कुनै नयाँ तथ्य आएको छैन । मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा आमासहित उनका ३ सन्तानको हत्या भएको थियो। मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, ८ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहरको शव घरभित्रै फेला परेको थियो। धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो ।


मृतक श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते नै दशैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टीका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन्। सोही राति सामूहिक हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।


मृतकका श्रीमान् दिपक बोहोरा वैदेशिक रोजगारीमा कतारमा थिए। घटनापछि उनी घर आइसकेका छन्। मृतक सबैको अन्तिम संस्कार भइसकेको छ ।

प्रतिकृया