• १८ भदौ २०८३, बिहीबार
  • ४ः२५ बेलुका

बडादसैँले सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

प्रकाशित मिति

२०८० कार्तिक ४ गते, शनिबार १२:५०

कार्तिक ४, २०८० काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।


बडादसैँको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उनले यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामथ्र्य प्रदान गरोस् भनी कामना गरेका छन् । उनले भनेका छन्, “यो पर्व सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो ।”

Kamana Sewa

राष्ट्रपति पौडेलले मुलुकमा परम्परागतरूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेको बताए।

Classic Tech Desktop

बडादसैँमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्व उजागर गरिरहेको बताउँदै उनले दसैँलगायका महान् चाडपर्वको संरक्षण एवं संवर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विचार प्रकट गरेका छन् ।


राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, “नेपालीहरूको महान् चाड बडादसैँ २०८० को शुभअवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”


शक्तिको प्रतीकका रूपमा मनाइने बडादसैँ असोजको शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सोही दिनदेखि निरन्तर शक्तिरूपी नवदुर्गा भवानीको पूजा आराधना गर्दै दशमीका दिन भवानीको प्रसादस्वरूप मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न तथा पूर्णिमासम्म विशेषरूपमा मनाइँदै आएको प्रसङ्ग पनि उनले सन्देशमा उल्लेख गरेका छन् ।


राष्ट्रपति पौडेलले विजयादशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन रहेको तथा बडादसैँको उपलक्ष्यमा पारिवारिक जमघट एवं पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको विषयसमेत जानकारी गराए।


उनले सन्देशमा भनेका छन्, “बडादसैँ २०८० ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, असल कामलाई हौसला प्रदान गर्न र सकारात्मक ऊर्जा थप्न दुर्गा भवानीले आर्शीवाद दिउन् भन्ने शुभकामना प्रकट गर्दछु ।”

प्रतिकृया