एकदिवसीय विश्वकप: श्रीलंका र अस्ट्रेलिया पहिलो जितको लक्ष्यमा
प्रकाशित मिति
२०८० आश्विन २९ गते, सोमबार १०:५७
असोज २९, २०८० काठमाडौँ: एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। लखनउको अटल बिहारी वाजपेयी स्टेडियम (इकाना) मा हुने खेल आज दिउँसो २:१५ बजे देखि सुरु हुने छ । दुबै टिमको यो जारी विश्वकपमा तेस्रो खेल हो। पाँच पटकको च्याम्पियन अस्ट्रेलिया जारी विश्वकपमा ऐतिहासिक रूपमा खराब फर्मबाट गुज्रिदा श्रीलंका पनि प्रतियोगितामा जितविहीन रहेको छ ।
त्यसैले दुबै टिम प्रतियोगिताको तेस्रो खेलमा पहिलो जितको प्रयासमा मैदानमा उत्रिने छन्। अस्ट्रेलियाले पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग हार भोग्दा श्रीलंका भने न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो ।
अस्ट्रेलिया र श्रीलंकाबीच अहिलेसम्म कुल १०३ एकदिवसीय खेल भएका छन् । जसमा अस्ट्रेलियाले ६३ र श्रीलंकाले ३६ खेल जिते। प्रतियोगितामा ४ खेल भने नतिजाविहीन बनेका थिए ।
एकदिवसीय विश्वकपमा भने दुई टिमबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा ८ पटक अस्ट्रेलियाले बाजी मार्दा श्रीलंका एक पटक मात्र विजयी भएको छ। एक खेल नतिजाविहीन भएको थियो ।
अस्ट्रेलियाले पछिल्ला ५ मध्ये ४ खेल गुमाउँदा श्रीलंकाले पनि पछिल्ला ५ मध्ये ४ खेल गुमाएको छ। दुबै टिम विश्वकपमा आफ्नो लय समाउने प्रयासमा रहँदा खेल रोमाञ्चक हुने आकलन गरिएको छ ।







प्रतिकृया