• 7:10 am

साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियो

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार ११:१७

असोज १८, २०८० काठमाडौँ: काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौं फर्किएको छ । गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज बिहीबार बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।


विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार काठमाडौं-दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो । पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौं फर्काएका थिए ।


जहाज उडानको क्रममा अन्य जहाज नजिक आएमा संकेत गर्ने उपकरणलाई टिकास भनिन्छ । ‘टिकास जहाजमा जडित प्रणाली हो, यसले उडिरहेको जहाजलाई जोखिम हुन सक्ने तथा अर्को जहाजसँग ठोक्किनबाट जोगाउन पाइलटलाई निर्देशित गर्दछ’, महाप्रबन्धक तिवारीले भने ।


उक्त जहाजका यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ ।

प्रतिकृया