अनुभवीको अनुभव अब काठमाडौँ जिससबाट

प्रकाशित मिति

२०८० भाद्र ३१ गते, आईतवार ०२:५९

District Coordination Committee final

भदौ ३१, २०८० काठमाडौँ : जिल्ला समन्वय समिति काठमाडौँले अनुभवी जिल्ला समन्वय अधिकारी पाएको छ । यस अगाडि बारा जिल्लामा जिल्ला समन्वय अधिकारीको भूमिका निर्वाह गरिसक्नु भएका रिजालाई बुधबार जिसस काठमाडौँले औपचारिक रुपमा स्वागत गरेको छ ।


रिजालसँग यस अघि स्थानीय निकाय हुँदै स्थानीय तहसम्मका कार्यालयमा रहेर सेवा प्रवाह गरिसकेको अनुभव छ ।
जिसस काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले रिजाललाई फूल, माला र खाँदा ओढाएर स्वागत गर्नुभयो । कार्यक्रममा प्रमुख बुढाथोकीले रिजाललाई स्वागत गर्दै नयाँ जिल्ला समन्वय अधिकारीबाट जिससको काम थप प्रभावकारी रुपमा अगाढि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रिजालले यसअघि बारा जिससमा जिल्ला समन्वय अधिकारी लगायत कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको अनुभवले जिसस काठमाडौँका काम अझ प्रभावकारी रुपमा अगाडि बढ्ने बुढाथोकीले अपेक्षा व्यक्त गर्नुभयो ।


उहाँले जिसस सञ्चालनका लागि स्पष्ट कानुनको अभावमा कतिपय कार्य सम्पादन गर्न कठिन प्राय भएको चर्चा गर्दै काठमाडौँले अहिले पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरेर काम गरिरहेको स्पष्ट पार्नुभयो ।


नवनियुक्त जिल्ला समन्वय अधिकारी रिजालले औचारिक रुपमा गरिने स्वागत कार्यक्रममले आपसमा सद्भाव र प्रेम बढ्दै जाने भन्दै प्रेमले संसार जित्न सकिने बताउनुभयो । जिसस बाहिरबाट हेर्दा ओझेलमा परेको जस्तो देखिएको चर्चा गर्दै समन्वय अधिकारी रिजालले जिससले संविधानले दिएको जिल्लाभित्रका स्थानीय तहसँग समन्वय र सहकार्य गरी अनुगमनको कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो ।


कार्यक्रममा स्वागत गर्दै जिसस उपप्रमुख शान्ति पाण्डेले रिजाल काठमाडौँको समन्वय अधिकारीको भूमिका रही रहँदा कार्यकाल पूर्णरुपमा सफल रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिससका सदस्यहरुले रिजाललाई टीका, फूल र खाँदा लगाएर स्वागत गर्नुभएको थियो ।


यस अगाडिका जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्याल बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा हुनु भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिजाललाई काठमाडौँका जिल्ला समन्वय अधिकारीको रुपमा सरुवा गरेको हो ।

प्रतिकृया