ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
प्रकाशित मिति
२०८० भाद्र ३१ गते, आईतवार १०:३९
भदौ ३१, २०८० काठमाडौँ: ब्राजिलको अमेजन जंगलको बीचमा रहेको बार्सिलोस सहरमा शनिबार भएको विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनाग्रस्त विमान एउटा सानो प्रोपेलर विमान थियो, जुन खराब मौसममा अमेजनसको मानुसबाट बार्सिलोसका लागि उडान गरिरहेको थियो ।
भारी वर्षाका कारण अवतरण गर्न खोज्दा विमान दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको हाे। दुई चालक दलका सदस्यबाहेक १२ जना यात्रु थिए, जसमध्ये केही पर्यटक रहेको बताइएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार अमेजनसका सुरक्षा अधिकारी भिनिसियस अल्मेडाले भारी वर्षाका कारण भिजिबिलिटी निकै कम भएकाे बताए । समाचार एजेन्सी रोयटर्सका अनुसार मानुस एरोट्याक्सी एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको पुष्टि गरेको छ र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।
यद्यपी एयरलाइन्सले दुर्घटनामा परी ज्यान गुमाउनेहरूको बारेमा कुनै जानकारी दिएको छैन ।






प्रतिकृया