• २० भदौ २०८३, शनिबार
  • ११ः५४ राती

अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

प्रकाशित मिति

२०८० भाद्र ३० गते, शनिबार ०४:५२

भदौ ३०, २०८० काठमाडौँ: सरकारले अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सो कुरा बताएका हुन् ।

National Life

उनले संसदमा पेस गरिएको शिक्षा विधेयकमा पनि शिक्षासम्बन्धी समावेशी कार्यक्रम राखिएको बताए । अधिकारीले अटिजम भएकाहरुलाई विशेष व्यवहारको आवश्यकता रहेको औँल्याए । अधिकारीले कक्षाकोठामा अटिजम भएकाहरुलाई शिक्षण गर्दा छुट्टै किसिमको व्यवहार आवश्यक पर्ने र कक्षा कोठामा उनीहरुलाई विशेष हेरचाह आवश्यक रहेको बताए ।


अपाङ्गता भएका व्यक्ति र अन्य व्यक्तिको परीक्षा सञ्चालन प्रकृया एउटै भएकोले परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने उनको भनाइ थियो । सचिव अधिकारीले फरक क्षमता र दक्षता भएका व्यक्तिको हकमा समावेशी शिक्षा पद्धतीका विषयहरु १६ औं योजनामा समेटिने बताए ।

Classic Tech Desktop

‘अटिजम डिस्अर्डर सोसाईटीको ठूलो समस्याका रुपमा रहिआएको छ । र, यो निकै पीडादायक पनि छ । यो क्षेत्रमा मलाई पनि नीतिगत, कानुनी, व्यवहार, शिक्षण पद्धतिको सुधारको माध्यमबाट केही गर्नुपर्छ भन्ने लागिरहेको छ’ अधिकारीले भने, ‘अटिजम भएका विद्यार्थी भाइबहिनी, युवाहरुलाई हामीले अरुजस्तै गरेर अध्ययन अध्यापनको शैली अवलम्वन गरियो भने त्यसले उपलब्धी हुँदैन भन्ने बुझिन्छ । उहाँहरु (अटिजम भएका) सँग विशेष किसिमको सीप र दक्षता छ । उहाँहरु केही गर्न सक्नुहुन्छ । तर, उपयुक्त वातावरण हामीले सृजना गर्नुपर्छ ।’


अधिकारीले विशेष किसिमको वातावरण भएमा मात्रै उनीहरुको क्षमता र दक्षताको विकास गरी त्यसलाई उपयोग गर्न सकिने बताए । ‘हाम्रो पोलिसी इन्क्लुसिभ छ भनेर मात्रै पुग्दैन । हाम्रो संविधानले गुणस्तरीय शिक्षा दिएको छ भनेर मात्रै पुग्दैन । प्राक्टिसमा ट्रान्सफर्म गर्न जरुरी छ’ उनले भने, ‘हामीले व्यवहारिक सुधार गर्न जरुरी छ । हाम्रो विद्यालय, कक्षाकोठा र सिकाईको वातावरणमा पनि ध्यान दिनुपर्छ ।’


संसदमा दर्ता भएको शिक्षा विधेयकमा पनिे विशेष किसिमको शिक्षा भनेर समावेश गरिएको बताउँदै उनले विशेष किसिमको शिक्षालाई पहिलो पटक कानुनमा समावेश गर्न लागिएको बताए । सचिव अधिकारीले अटिजम भएकाहरुको विशेष किसिमको सीप र दक्षता प्रष्फुटन गर्न सरकारले उपयुक्त वातावरण सृजना गर्ने बताए । अटिजम बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता हो ।

प्रतिकृया