• २० भदौ २०८३, शनिबार
  • ६ः१६ बिहान

कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन भदौ

प्रकाशित मिति

२०८० भाद्र ३० गते, शनिबार १०:१८

भदौ ३०, २०८० गल्याङ : कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् तथा चोरी निकासी हुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्र्याक्टर समातिएपछि घटना बाहिर आएको हो ।

National Life

ट्र्याक्टरलाई जनप्रतिनिधि र स्थानयीवासीले नियन्त्रणमा लिएका थिए । कालीगण्डकी नदीबाट तीन वर्षयता नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा निकासी गर्न अदालतले रोक लगाएको छ । स्थानीयको प्रयासपछि ट्र्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रहरीले ट्र्याक्टरलाई गल्याङ नगरपालिकाको जिम्मा लगाएको छ । नगरपालिकाको राजस्व कार्यालयले नियमानुसारको जरिवाना भन्दै रु १० हजार लिएर ट्र्याक्टरलाई छोडिदिएको छ ।


गल्याङ नगरपालिका–११ का वडासदस्य प्रकाश भट्टराईले कालीगण्डकी नदीको पटकपटक दोहन हुने गरेको बताए । उनले अवैधरुपमा लोड गरी ल्याएका ढुङ्गा, गिट्टी र बालुवा समात्न खोजे पनि असफल भएको बताए । “धेरैपटक म र प्रहरीसँगै घटनास्थलमा गएको छु तर प्रमाण पुष्टि हुन नसक्दा समात्न सकेनौँ”, उनले भने, “यो पटक भने ढुङ्गासहितको ट्र्याक्टर समातेर प्रहरीको जिम्मा लगाउन सफल भयौँ ।” वडासदस्य भट्टराईले कालीगण्डकीमा नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाइएकाले चोरी निकासी हुनु राज्यविरुद्धको गतिविधि भएको दाबी गरे ।

Classic Tech Desktop

उनले यस क्षेत्रमा यस्ता गतिविधि पटकपटक हुने गरेको भन्दै नगरपालिका चनाखो भएर अवैध गतिविधि रोक्न लाग्नुपर्नेमा जोड दिए । टेण्डर प्रक्रिया नगरी नगरपालिका र विभिन्न ठेकेदार तथा कम्पनीको मिलिमतोमा कालीगण्डकीको नदीजन्य पदार्थ उत्खनन, चोरी तथा निकासी हुने गरेको कतिपय स्थानीयको आरोप छ । उनीहरुले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्न ठुलै गिरोह सक्रिय रहेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नसमेत माग गरेका छन् । चोरी निकासीमा सक्रिय गिरोहले कालीगण्डकी नदीका ढुङ्गा, गिट्टी, बालुवालगायत निर्माण सामग्री निकालेर विभिन्न स्थानका लागि बिक्री गर्ने गरिएको स्थानीयको आशङ्का छ ।


बर्खाको बेला कालीगण्डकी नदीको तटमा ढुङ्गा, गिट्टी र बालुवालगायत निर्माण सामग्री जम्मा हुने गर्दछ । चोरी निकासीमा सक्रिय गिरोहले प्रहरी–प्रशासनलाई छलेर बेलाबेला निर्माण सामग्री उत्खनन् गरिरहेका हुन्छन् । राम्दी, परेवाकुना, ठूला ढुङ्गा, एक्किया, छर्ती, जिमुवा काप्चेघाट, हुँगीघाट, बेलचौर, बेल्चौर जामुने, निमाघाट गल्याङ नगरपालिकास्थित कालीगण्डकी नदीका प्रमुख ढुङ्गा, गिट्टी, बालुवालगायतका सामग्री जम्मा हुने स्थल हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पावलसिंह लामाले १० दिनयता जिल्ला कारागार नजिकै आँधीखोलाबाट अवैधरुपमा लोड गरी ल्याएको ३० बोरा बालुवासहितको बलेरो जिप र पुतलीबजार नजिकै चिहान घाटबाट समेत त्रिपालले ढाकेर बालुवा ल्याउँदै गरेको अवस्थामा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको बताए ।


“अवैध चोरी निकासी नियन्त्रण गर्न साँझपख मोबाइल गाडी खटाएका छौँ”, सूचना अधिकारी लामाले भने, “व्यावसायी, ठेकेदार तथा उपभोक्तालाई स्टक प्रमाणित भएका स्थानबाट मात्र ढुङ्गा, गिट्टी, बालुवालगायतका निर्माण सामग्री खरिद बिक्री गर्न आग्रह छ, कोही कसैले अटेर गरी अवैध गतिविधि गरेमा कारबाही गरिने छ ।” गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले ढुङ्गा, गिट्टी, बालुवालगायतका सामग्री अवैधरुपमा चोरी निकासी गरेको भेटिएका सबैलाई बिनापूर्वाग्रह कारबाही गरिएको बताए । “अवैध नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रणका लागि नगरले योजना बनाउने तयारीमा छ”, उनले भने, “गएका आर्थिक वर्षमा पनि हामीले कारबाही गरेका छौँ, आगामी दिनमा पनि नदीजन्य पदार्थ चोरी निकासी गर्ने जो कोहीलाई काडाईका साथ कानुनी प्रक्रियामा ल्याउन प्रहरीलाई निर्देशन दिएका छौँ ।”

प्रतिकृया