• २१ असोज २०८३, बुधबार
  • ९ः४० बिहान

मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ : सभापति देउवा

प्रकाशित मिति

२०८० भाद्र २४ गते, आईतवार ०१:३१

भदौ २४, २०८० काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।

National Life

पार्टीले आयोजना गरेको आजदेखि प्रारम्भ भएको तीन दिने ‘बिपी साहित्य महोत्सव’को उद्घाटन समारोहमा उहाँले बिपी आफैमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधँै अजर र अमर नक्षेत्रको रुपमा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका छाँै ।”


विपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको उल्लेख गर्दै उहाँले नेपालका सबै राजनैतिक दलहरुले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताउनुभयो । महोत्सवले बिपीले प्रतिपादन गरेको राजनीतिक विचार, उहाँका साहित्यिक कृति, उहाँले भोग्नु परेका सङ्घर्षमय जीवन गाथा र उहाँको सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणलगायतका विविधि पक्षमा आजको युवा पुस्तालाई गहिरो ज्ञान बाँड्नेमा सभापति देउवाले विश्वास व्यक्त गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

“बिपी सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो । उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग र आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई आवश्यक ठान्नुहुन्थ्यो”, सभापति देउवाले भन्नुभयो ।


बिपीले प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नुभएको र साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुने बिपीको विचार रहेको सभापति देउवाले बताउनुभयो । उहाँले आज कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको बताउनुभयो ।


सभापति देउवाले समयको अन्तरालसँगै आज हाम्रो मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको उल्लेख गर्दै नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न नपाएको धारणा व्यक्त गर्नुभयो । “बिपी राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार हुनुहुन्थ्यो, सबै किसिमका विभेदविरूद्ध आगो ओकल्नु हुन्थ्यो । समावेशीता र सधै नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लडिरहनु भयो भने राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झै उभिनुभयो”, सभापति देउवाले भन्नुभयो ।


अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बिपी सबैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्नुुहुने उहाँको भनाइ छ । राज्यको सिमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीसँग मित्रवत ढङ्गले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु र निर्णय गराई बिपीको स्वभाव रहेको सभापति देउवाको भनाइ छ । महामानव बिपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही भदौ २४ देखि २६ गतेसम्म चल्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव हुनेछ ।


कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११०औँ बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उहाँले पु¥याउनु भएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर छ । आजको राजनीतिक परिवेशमा समेत बिपीको विचारको महत्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उहाँ शीर्ष स्थानमा हुनुहुन्छ ।


महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिकृया