लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

प्रकाशित मिति

२०८० भाद्र १७ गते, आईतवार ०३:०३

COMMISSION FOR THE INVESTIGATION OF ABUSE OF AUTHORITY CIAA NEPAL9 e1680433474938

भदौ १७, २०८० काठमाडौँ: सोलुखुम्बु जिल्ला, लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नं. २ का तत्कालीन वडा अध्यक्षसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरे छ।


सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार ६ लाख बिगो मागदाबीसहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्‍ता भोला दाहालले जानकारी दिए।


वडा नम्बर २का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जिवन सुवेदीविरूद्ध मुद्दा दायर गरेको हो। वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गरेको भन्दै अनियमितता गरेको भन्ने उजुरी परेको थियो।


उक्त उजुरीमाथि अनुसन्धान हुँदा तत्कालीन वडाध्यक्ष बस्नेतले भवन निर्माणको लागि निशुल्क पाएको जग्गालाई खरिद गरेको भन्दै ६ लाख रुपैयाँ भुक्तानी लिएका थिए।


उनले भुक्तानीका लागि गाउँपालिकामा पेश गरी अधिकृत भण्डारी र लेखापाल सुवेदीले जग्गा खरिद गरेको भनी झुट्टा व्यहोरा उल्लेख गरी ६ लाख रुपैयाँ दिएको खुलेको हो।


दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदा समेत उनीहरूले दिन नमिल्ने रकम भुक्तानी गरेको अख्तियारको ठहर छ। यसरी उनीहरूले भ्रष्टाचार गरेको भन्दै बिगो रकम कायम गरी सजायको मागदाबी गरेको छ।

प्रतिकृया