• 7:03 am

फिल्डमा हुँदै नभएको जग्गा कायम गर्ने पाँच कर्मचारीसहित सातबिरुद्ध अख्तियारले मुद्दा दायर

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार ०१:०३

भदौ १२, २०८० काठमाडौँ: मालपोत कार्यालय, ललितपुरका कर्मचारीसँग सेटिङ गरी जग्गाको कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल कायम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जना विरुद्ध आरोपपत्र दायर गरेको छ।


नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र सर्भेक्षक लोकेन्द्र सिंह धामी, मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवाल साथै राउसाई होल्डिङ्गस् प्रा.लि., ललितपुर महानगरपालिका वडा नं. २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोज बहादुर श्रेष्ठ विरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन्।


टिकाथली गा.वि.स.-६ को कित्ता नं. १६९९ र १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल टायल चेक गरी बढी कायम गरेको भनी उजुरी निवेदन परेको थियो।


नक्सामा भू-उपयोग नियमावली, २०७९ मा उल्लिखित कित्ताकाटको लागि तोकिएको न्यूनतम मापदण्ड भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने कानुनी व्यवस्था रहेको छ। उक्त नियमावलीले तोकेको क्षेत्रफलभन्दा कम क्षेत्रफलका कित्ताहरु कित्ताकाट गरी सो तथ्यलाई ढाकछोप गर्ने उद्देश्यले नक्सा र फिल्डमा नभए तापनि कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा टायल चेकबाट बढ कायम गरी टायल चेक गरी बढाएको क्षेत्रफल र नेपाल सरकारको नाममा कायम बाटोको कित्ता नं. २९४४ को नक्सा र फिल्डमा भएको क्षेत्रफलभन्दा कम क्षेत्रफल कायम गरी प्लटरजिष्टर र स्रेस्तामा जनाई उक्त जग्गासमेत व्यक्ति विशेषको नाममा कायम गरिएको पाइएको छ।


सो प्रकरणमा नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र सर्भेक्षक लोकेन्द्र सिंह धामी, मालपोत कार्यालयलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुरमा ऐनको दफा ११ बमोजिमको कैद र जरिवानाको मागदाबी लिइएको छ।


मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवालले कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा नक्सा र फिल्डमा नभएको क्षेत्रफल टायल चेकबाट बढ कायम गरीएको साथै एवं साविकको कित्ता नं. १६९९ बाट कित्ताकाट भई कायम कित्ता नं. २९४४ को कित्ताकाट डायरी (नक्सा) मा भएको क्षेत्रफलको जग्गालाई कित्ताकाट स्रेस्ता (प्लट रजिष्टर) र राजिनामा लिखतमा कम क्षेत्रफल बनाई भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा लिखत पारितको लागि पठाइएको पाइएको थियो।


उक्त लिखत पारित गर्दा अपनाउनुपर्ने कानूनी व्यवस्थान नपनाई कानून विपरीत अन्देखा गरी निर्देशिकासमेतले तोकेको कार्यविधि अनुसार कागजात एवं फिल्ड निरीक्षण चेकजाँच नगरी नापी कार्यालयबाट पेश भएबमोजिम लिखतहरु पारित गरेको देखिँदा उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम गलत लिखत तयार गरेको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कैद र जरिवानाको मागदाबी लिइएको दाहालले बताएका छन्।


त्यस्तै राउसाई होल्डिङ्गस् प्रा.लि., ललितपुर महानगरपालिका वडा नं. २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोज बहादुर श्रेष्ठले कित्ताकाट गरी विभिन्न व्यक्तिहरुलाई बेच्ने क्रममा नापी कार्यालय र भूमिसधार तथा मालपोत कार्यालय, ललितपुरका कर्मचारीहरुलाई प्रभावमा पारी कागजातहरु हेरफेर एवं गलत लिखत तयार गर्ने कसुर अपराधमा मतियारको भूमिकासमेत गरेको खुलेको छ।


उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको सरकारी कागजात हेरफेर गर्ने कसुरको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको गलत लिखत तयार गर्ने कसुरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम सजाय हुन मागदाबी गरिएको छ।

प्रतिकृया