• 8:21 am

अदालतले दियो धरानका मेयर हर्क साम्पाङलाई तीन आदेश

प्रकाशित मिति

२०८० भाद्र ८ गते, शुक्रबार ०१:३८

भदौ ८, २०८० विराटनगर : उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।


न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले आज निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न मेयर साम्पाङलाई अन्तरिम आदेश दिएको हो ।


मेयर साम्पाङविरुद्ध धरानका रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै रिट दायर गर्नुभएको थियो । अदालतले सो रिटमा मेयर साम्पाङलाई कडा आदेश दिएको हो ।


धरान–४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले गत साउन ६ गते वृक्षरोपण गर्नुभएको थियो । अधिकारी दम्पतीले वृक्षरोपण गरेको जग्गा आफ्नो भएको दाबी गर्दै आएको छ । मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाको जग्गा भएकाले वृक्षरोपण गरेको दाबी गर्दै हडप्न खोज्नुभएको छ ।

प्रतिकृया