लम्पी स्किनबाट मरेका पशुको क्षतिपूर्ति दिन सकिँदैनः मन्त्री भुसाल
प्रकाशित मिति
२०८० श्रावण ३२ गते, बिहीबार ०५:०३
३२ श्रावण २०८०, काठमाडौँ: कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पी स्किनबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताएका हुन् ।
उनले लम्पी स्किन रोग लागेर पशुहरु मरेपश्चात किसानहरुलाई ठूलो क्षति भए पनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिन भने नसकिने बताए । यद्यपि, सरकारको तर्फबट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनले जानकारी दिए ।
उनले सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधिलगायतका प्रकृयालाई अगाडि बढाइएको बताए। कार्यविधि पास हुनेबित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाइ छ ।
उनले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशु संक्रमित भएको बताए । मन्त्री भुसालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशु मरेको भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको उल्लेख गरे ।
प्रतिकृया