सेफ्टी ट्यांकीमा परेर कञ्चनपुरमा हात्तीको मृत्यु
प्रकाशित मिति
२०८० श्रावण ३२ गते, बिहीबार १०:२१

३२ श्रावण २०८०, काठमाडौँ: कञ्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनमा शौचालयको सेफ्टी ट्यान्कीमा परेर हात्तीको मृत्यु भएको हो ।
“घरको सेफ्टी ट्यांकीमा पछाडिको खुट्टा फसेपछि निस्किन नसकेर हात्तीको मृत्यु भएको हो,” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले भने । उनका अनुसार बयस्क भाले हात्तीको मृत्यु भएको हो । उक्त क्षेत्रमा जंगली हात्ती हिँडिरहने गरेको मेहताको भनाइ छ ।
राति १२ बजेसम्म उक्त क्षेत्रमा हात्ती नदेखिएकाले बिहानीखको समयमा उक्त घटना भएको हुनसक्ने उनको भनाइ छ ।
मृत हात्तीलाई सेफ्टी ट्याङकीबाट क्रेन लगाएर निकाल्ने र शव परीक्षणपछि अन्त्येष्टि गरिने मेहताले जानकारी दिए । “हाम्रो टोली अहिले घटनास्थलमा पुगिसकेको छ । अब क्रेनले हात्तीलाई बाहिर निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गर्नेछौं,” उनले भने ।
प्रतिकृया