• 8:26 am

आज बिहान संखुवासभा कारागारमा झडप हुँदा दुई जनाको मृत्यु

प्रकाशित मिति

२०८० श्रावण २४ गते, बुधबार ०१:०७

२४ श्रावण २०८०, काठमाडौं: संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए ।


बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए ।


आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरु बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखे ।


बिहान करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए । ‘उनीहरुलाई अस्पताल लैजाने क्रममा मृत्यु भयो,’ सहायक प्रमुख जिल्ला अधिकारी ले भने ।


उनका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।

प्रतिकृया