• 5:02 am

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीसँग सम्बन्ध विच्छेद

प्रकाशित मिति

२०८० श्रावण १८ गते, बिहीबार १२:४०

१८ श्रावण २०८०, काठमाडौँ: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रेगोइर ट्रुडो १८ वर्षको सम्बन्धपछि अलग भएका छन् । सन् २००५ मा क्यानडाको मोन्ट्रियल सहरमा विवाह गरेको यो जोडीका तीन सन्तान छन् ।


प्रधानमन्त्री ट्रुडोको कार्यालयबाट जारी एक विज्ञप्तिमा दम्पतीले छुट्टिने सम्झौतामा हस्ताक्षर गरे पनि उनीहरू अझै सार्वजनिक रूपमा देखापर्ने जनाएको छ । दम्पतीले आफ्ना छोराछोरी १५ वर्षीय जेभियर, १४ वर्षीय एला ग्रेस र नौ वर्षीय हेड्रिनको गोपनीयताका लागि अनुरोध गरेका छन् ।


पछिल्ला वर्षहरूमा उनीहरू एकसाथ सार्वजनिक रूपमा कम देखिएका थिए । गएको मेमा बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा भने सँगै सहभागी भएका थिए । ट्रुडोले सन् २०२२ पनि दुवैजनाको वैवाहिक सम्बन्ध जटिलताले भरिएको बताएका थिए ।


उनले सन् २०१४ मा आफ्नो आत्मकथामा पनि वैवाहिक जीवनमा कठिन उतारचढाव भोगेको उल्लेख गरेका थिए । तर पनि सोफी अर्थात् श्रीमती आफ्नो सबैभन्दा मिल्ने साथी, पार्टनर, प्रेम भएको भन्दै उनले दुवैजना एकार्काप्रति इमानदार रहेको लेखेका थिए ।

प्रतिकृया